आर्ट-सिनेमाहरूको ढुकुटी



बेङ्गाल आर्ट-सिनेमाहरूको ढुकुटी हो । आर्ट सिनेमामा, बेङ्गाल बलिउडभन्दा माथि छ । बेङ्गाली फिल्महरुको कुरा गर्दा, Satyajit Ray को नाम मेन्सन गरेन भने मलाई मात्र होइन, जोकोहीलाई पाप लाग्छ । उनले बेङ्गाली फिल्महरूलाई अन्तर्राष्ट्रिय प्लाटफर्मसम्म पुर्‍याउन ठूलो योगदान गरेका छन् ।

उनको “The Apu Trilogy” नहेर्ने मान्छेले आफूलाई (हिन्दी) सिनेमाको दर्शक नठाने पनि हुन्छ ।

अब कुरा गरौं मेरा दोस्रा प्रिय बेङ्गाली डाइरेक्टरको~
Aditya Vikram Sengupta. उनले पहिलो फिल्म: Asa jaoar majhe [ Labour of Love ] बाटै ‘नेसनल अवार्ड फर बेस्ट डेब्यु’ खाइसकेका छन् । उनका फिल्ममा: क्यारेक्टरले क्यामेरालाई डुलाउदैनन् बरू क्यामेराले क्यारेक्टरहरू तानिरहेको हुन्छ । उनको यो शैलीको म खत्रा अनुयायी हुँ र खुब डाहा पनि गर्छु ।

°°°
• Labour of Love [ 2014 ]

यो फिल्ममा दुईवटा आँखा छन्- पति र पत्नी ।
दिन र रातको कथा हो यो । प्रेमको गाथा हो ।

दुई विवाहित जोडी, अलग अलग समयमा (दिन र रात)मा काम गर्नु पर्ने भएकाले एउटै घरमा भएर पनि एकअर्कासँग भेट्न पाउँदैनन् । तर आफूले एकअर्काप्रति गर्नु पर्ने दायित्व उनीहरूले बिर्सेका हुदैनन् ।

के उनीहरूको कुनै समयमा पुगेर भेट हुन्छ ?

बेङ्गाली म्युजिक संसारका सुन्दर संगीतहरूमा पर्छन् मेरा निम्ति । ब्याक्ग्राउन्डमा बजेका ती गीतहरूले फिल्मलाई लयात्मक बनाएको छ । कलात्मक बनाएको छ ।

कुनै बातचीत बिनै सकिएको छ यो फिल्म । फिल्म मौन पनि छैन । यसले धेरै बोलेको छ । तर चिच्याएको छैन ।

LABOUR OF LOVE~ स्वप्निल शब्दहरू/दृश्यहरूले बनेको सुर्ती-मधुर संगीत हो ।

°°°

• JONAKI [ 2019 ]

तपाईं बूढो हुनुभएको छ । यतिखेर तपाईं हस्पिटलको एउटा बेडमा बिरामी भएर पल्टिनु भएको छ । सायद तपाईको काल पनि तपाईं नजिक नजिक आइपुग्न लागेको छ । अब तपाईं सम्झन थाल्नु हुन्छ, आफ्नो बचपन । आफ्नो जवानी । अतितका ती दिनहरू । तपाईको बूढो मस्तिष्कले कुन कुन यादहरू सम्झिन सक्छन् ? कस्ता देखिन्छन् त्यो बिमार बुढो मस्तिष्कले सम्झिएका यादहरू ?

र त्यो यादभित्र तपाईं आफू चाहिँ कस्तो देखिनु हुन्छ ?

यादहरू कुहिन्छन् कि नाइँ ? मस्तिष्कमा कुहिएका यादहरूको अनुहार कस्तो हुन्छ होला ?

JONAKI~ जर्जर यादहरूले बनेको एउटा सुन्दर सरियल कविता हो ।

°°°
नोट: तपाईभित्र ‘धैर्य’ नामको जिनिस केही अवधिको लागि मात्र रहन्छ भने यी फिल्महरू तपाईका लागि होइनन् ।