[ CHASE ]
ऊ मलाई खेदाइरहेछ । ऊ अर्थात् ‘म’ । म ऊदेखि भागिरहेछु । म अर्थात् ‘ऊ’ । हामी एकअर्काका प्रतिबिम्ब हौं । हामी एकअर्काका दुश्मन पनि हौं ।
जङ्गलै जङ्गल म दौडिरहेको छु । जङ्गलै जङ्गल ऊ मलाई लखेटिरहेको छ । मलाई ‘आफ्नो’ ज्यान बचाउनु छ । उसलाई ‘आफ्नो’ ज्यान लिनु छ । म आफू ‘आफू’लाई जिउँदो राख्न चाहन्छु । ऊ आफू ‘आफू’लाई मृत देख्न चाहन्छ ।
हाम्रा उदेश्य फरक छन् । हामी एकअर्काका पर्याय हौं ।
डराएको सास, सासले मारेको साउती — त्यो साउती मेरो हो । त्यो साउती उसको पनि हो ।
आधा घण्टा भयो, म भागेको । आधै घण्टामा भयो, उसले मलाई लखेटेको पनि । म आश्रय खोजिरहेको छु । घर खोजिरहेको छु । मान्छे खोजिरहेको छु । म बाँच्न चाहन्छु । ऊ के चाहन्छ ? ऊ सिर्फ मलाई चाहन्छ । मेरो देह, मुर्दा भएको हेर्न चाहन्छ ।
मेरो सास फुलिरहेको छ । उसको फोक्सो फुलिरहेको छ । म दौडिन नसक्ने हालतमा पुगिसकेको छु । ऊ लखेट्न नसक्ने हालमा पुगिसकेको छ । तर म रोकिएको छुइनँ — मलाई बाँच्नु छ । ऊ रोकिएको छैन — उसलाई मार्नु छ ।
अनौठो, रहस्यमय ठाउँ । रूखहरूका हाँगामा, फेदमा ऐनाहरू झुन्डिरहेका छन् । ऐनै-ऐनाले सजिएको ठाउँ — या सजाइएको ठाउँ ? साना, ठूला, मध्यम साइज ऐनाहरू — ऐनाहरूको बजार हो जस्तो । मेला लागे जस्तो ।
बडेमानको सालको रूख । बडेमानको सालको रूखको फेदमा बडेमानको ऐना । चुम्बकीय ऐना । तिलस्मी ऐना । बोल्ने ऐना । जो मलाई भनिरहेको छ—
“यहाँ आइज, मेरो सामीप्यतामा — म तँलाई सुरक्षित राख्छु !”
म सोही ऐनाले तानिन्छु । ऐनातिर दौडिन्छु । ऐनातिर झम्टिन्छु ।
अचम्म ! म ऐनाभित्र प्रवेश गर्न सफल हुन्छु ।
म ऐनाभित्र छु । ऊ दौडिदै आइरहेको छ । ऊ म जस्तै ऐनाभित्र प्रवेश गर्ने प्रयास गर्दैन — ऐना सामुन्ने आएर रोकिन्छ । उसको अनुहारमा रिसको राँको बलिरहेको छ ।
स्याँ…स्याँ…
म आफ्नो पाइन्टको दाइने खोजीबाट चुेरोटको बट्टा निकाल्छु । देब्रेबाट सलाई निकाल्छु । सल्काउँछु । तान्न थाल्छु । उडाउँन थाल्छु ।
ऊ रिसले थरथर काँपिरहेको छ । उसका हात काँपिरहेका छन् । उसको दाइने हातमा काठको बिँड भएको ह्याम्मर छ — ह्याम्मर पनि काँपिरहेछ ।
म चुरोटको एक लामो फ्वाँक तान्छु । ऊ उभिएको दिशातर्फ फ्याँक्छु । र एक विजय पल्स सन्तुष्टिको मुस्कान मुस्कुराउँछु !