के तिमीलाई थाहा छ, तिम्रो आँगन हिलो हुँदैछ । यो शहरका कंक्रिट छतहरू बहिरा भइसकेका छन्, अब यिनले सुन्न सक्दैन वर्षातले खेलेको रतैउली ! तिमी आफ्नो घरबाट बाहिर निस्क र सधैंको जस्तै आफ्नो कलेजोभित्र निसासिरहेका आफ्ना उदासीलाई याद गर— अनि डाँको छाडेर रोऊ !
मलाई थाहा छ, बाहिर पानी परिरहेको छ । यो वर्षातले सधैं मेरो हातमा तिम्रो यादको हावा भरिएको बेलुन थमाइदिन्छ । सम्झाऊ, आफ्ना मरांच्यासे यादहरूलाई— अझै पनि ती मलाई एक अबोध बालक नै सम्झिन्छन् । या थाहा छैन किन, जबजब म तिमीलाई सम्झिन थाल्छु, आकाश रुन थाल्छ, पानी पर्न थाल्छ— आँसु रित्तिएका आँखालाई नाथे बादलले पनि गिज्याउँछ ।
बादलहरू !
बादलहरू चुहिएकै बेला गिदीको ढिकीमा अराजक सोचहरू उफ्रिन थाल्छन् । नानाथरी सोच्छु— धुवाँले बादललाई संभोगीय सुख दिन सक्दैन, तर बादल त धीरताका फोका/फोका गासिएर बनेकी छे— ऊ बाफको पर्खाईमा बस्छे । र निफोम्यानिक बाफहरूसँगको संभोग-अवधिमा उसका दैविक सन्तुष्टिहरू, योनिबाट नभई उसका खुट्टाहरू हुँदै जमीनमा तप्किन थाल्छन् ।
पानी पर्छ !
तिमी आफ्नो मुन्टो आकाशतिर फर्काऊ, खुट्टाहरू इजाकुलेट भइरहेका छन् !