मेरो अवचेतनाभित्रको ‘मुराकामी’



ऊ अघिको बेन्चमा एउटा मान्छे – जसको टाउको छैन – पत्रिका पढिरहेको छ ।

‘बिथोबिन पूर्ण रुपमा बहिरो भयो ।’

उसले त्यो पत्रिकाको फ्रन्ट पेजमा छापिएको हेडलाइन पढ्छ । उसलाई यो पनि थाहा छ कि त्यो पत्रिका अठारौं शताब्दीबाट – एकाइसौं शताब्दीमा समय-यात्रा गरेर आएको हो । एउटा टाउको नभएको मान्छे – जो आफ्नो घाँटीबाट धोत्रो आवाज निकालि पत्रिका पढिरहेको छ – उसलाई यो दृश्य कति पनि अनौठो लाग्दैन ।

यो लोकमा यस्ता दृश्यहरू हरेक दोस्रो पाइलामा भेटिन्छन् ।

जस्तो कि त्यही पर एउटा बुढो मान्छे बिरालोसँग संवाद गरिरहेको छ ।  अलिक पर.. एउटा भेडाको टाउको भएको मान्छे – ऊ सामुन्नेको पेन्टिङलाई घुरिरहेको छ ।

यस लोकमा रात छिप्पिएको छ । यो दुनियाँमा घाम कहिले उदाउँदैन । यहाँ दुईवटा चन्द्रमा छन्, जो दिन-रात नै आकाशलाई कब्जा गरेर बसेका छन् । घामको अस्तित्व यहाँ छैन ।

छायाहरू – जसका कुनै सजीब र निश्चित आकृति छैनन् – ती परको चहुरमा बेपर्वाह नाचिरहेका छन् ।

यतिकैमा एउटा कालो बिरालो, उसको परिचय खोज्दै, ऊ सन्मुख आइपुग्छ । उसले आफ्नो नाम त बताउदैन तर आफ्नो पेशा कथावाचक रहेको र कथा खोज्ने क्रममा बाटो बिराएर यो लोकसम्म आइपुगेको जानकारी गराउँछ । बिरालो एकछिन सोच मग्न हुन्छ ।

एकछिन सोचविचार गरेपछि, बिरालोले कथावाचकलाई आफूलाई पछ्याउनु भनी ठाडो आदेश दिन्छ । कथावाचक असमञ्जसमा पर्छ तर उसका पैताला लुरुलुरु बिरालोको पछि लाग्छन् ।

बिरालो एउटा विशाल अनि पुरानो घरभित्र छिर्छ । कथावाचक उसलाई पछ्याइनै रहन्छ । बिरालो घरको ओरालो सिढी हुँदै भुँइतल्लामा पुग्छ । कथावाचक भँइतल्लामा पुग्दा, बिरालो एउटा अँध्यारो कुनामा छिर्दै गरेको पाउँछ । त्यो कुनाबाट एउटा अजीब आवाज आइरहेको हुन्छ – जस्तो कि नजिकै कुनै झरना झरिरहेको छ ।

वास्तवमै त्यहाँ झरना खसिरहकै हुन्छ, जब कथावाचक त्यो अँध्यारो  कुनाको पल्लो भागमा पुग्छ । कथावाचकलाई यो कुरा पनि त्यति अनौठो लाग्दैन । त्यहाँ एउटा बडेमानको भीरबाट झरना खसिरहेको छ ।  बिरालो त्यो झरना झरिरहेको पानीमा हाम् फाल्छ ।  कथावाचक पनि केही नसोचि त्यो झरनातिर फाल हाल्छ ।

उनीहरू झरनासँगै तल खस्दैनन् बरु दुबै झरनाको अर्को पट्टी पुग्छन् । उनीहरूलाई त्यो झरनाको पानीले भिझाउँदैन – जस्तो कि उनीहरूको छाला भरखरै हाँसका भुत्ला अनि पखेटामा परिणत भएका हुन् ।

झरना पारि एउटा गुफा छ । त्यो गुफाको वायुमण्डल एकदमै शान्त छ । जस्तो कि त्यहाँ हावाले पनि सास फेरिरहेको छैन । गुफाभित्र अर्को छुट्टै दुनियाँ छ । त्यो कसैको कोठा जस्तो छ । जहाँका भित्तामा ठूल्ठूला बुकसेल्फ छन् र ती बुकसेल्फमा टांसिएका छन् – किताब नै किताब । त्यो कसैको पर्सनल किताब कम, कुनै पब्लिक लाइब्रेरी जस्तो देखिन्छ । त्यहाँ लाइब्रेरियनहरू पनि छन् । तर ती लाइब्रेरियन मान्छे होइनन् – बिरालोहरू हुन् ।

बिरालोले कथावाचकलाई त्यस लाइब्रेरी जत्रो कोठा हुँदै अर्को कोठामा छिराउँछ । जहाँ एउटा बुढो मान्छे – जो त्यति बुढो देखिदैन – चुलोमा केही बनाइरहेको छ । कथावाचकको नाकमा ‘स्पागेटी’को गन्धले दस्तक दिन्छ । बिरालोले त्यस मान्छेको कथावाचकसँग परिचय गराउँछ ।

त्यो मान्छे एक लेखक हुन्छ – जो जादुई र एकदम सरल अनि विचित्रका किताब लेख्छ ।

‘स्पागेटी’को जिम्मा त्यो कालो बिरालोलाई लगाएर, लेखकले कथावाचकलाई भान्साभित्रबाट जाने अर्को भित्री कोठामा लान्छ । जहाँ एउटा क्लासिक ‘भाइनल रेकर्ड प्लेयर’ छ । उसले त्यस रेकर्ड प्लेयरमा कालो चक्का हाल्छ । चक्का घुम्न थाल्छ । अब त्यस कोठाको माहोल अठारौं शताब्दीमा पुग्छ, जहाँ एक हङ्गेरियन कम्पोजर ‘फ्राज लिस्ट’ उसको मनपर्ने कम्पोजिसन – “Le mal du pays” – बजाइरहेका छन् ।

लेखक आफ्नो लेखन-टेबुलमा बस्छ । टेबुलमा रहेको पुरानो टाइपराइटरलाई आफू नजिक तान्छ । उसले कथावाचकलाई आफ्नो मस्तिष्कमा पस्ने अनुमति दिन्छ । कथावाचक बिस्तारै आफ्नो स्वरुपलाई भुसुनाभन्दा सानो बनाउँछ । र ऊ लेखकको कानको बाटो हुँदै, उसको चेतनादेखि अव‍चेतासम्मको यात्रामा निस्किन्छ ।

टाइपराइटरमा लेखकका औंलाहरू दौडिन थाल्छन् । खाली पानामा बिस्तारै जापानिज अक्षरहरू छापिन थाल्छन् । No photo description available.