‘लाज्लो क्रास्नहोर्काई’
१.
हंगेरीमा एउटा जुला ( Gyula ) भन्ने सानो शहर थियो । थियो यसअर्थमा, अहिले त्यो सहर हलकै बढेको छ । निकै ठूलो भइसकेको छ । त्यहाँ एउटा १४/१५ वर्षे केटो, एउटा बूढो घरको बूढो-बन्द ढोकामा एकोहोरिएको थियो । केहीबेरपछि त्यो ढोकाबाट एउटा बुढो मान्छे बाहिर निस्कियो । उसले १८औं शताब्दीमा कतै गुमनाम भएको हंगेरियन-पोषाक लगाएको थियो । त्यो केटोलाई त्यो लुगाको नाम थाहा थिएन ।
ऊ त्यो बूढोलाई गल्लीको बाटोहुँदै पछ्याउन थाल्यो । त्यो बूढो एउटा ठूलो कंक्रिटको पुलमा पुग्यो । र त्यहीँ उभियो । केटो, एउटा रुखमा लुकेर त्यो बूढोलाई हेरिरहेको थियो । ऊ यसै गरेर, विगत केही वर्षदेखि बूढोको जासुसी गरिरहेको थियो । किन ? – उसलाई थाहा थिएन ।
उसलाई लाग्थ्यो, त्यो बूढो मान्छे कुनै परी या दन्त्यकथाको पात्र हो । उसलाई आफ्नो सानो शहर पनि कुनै मिथिकल ठाउँ जस्तो लाग्थ्यो, जहाँका मान्छेहरू सामन्य भएर पनि सामन्य थिएनन् । कथाका पात्र जस्ता थिए, कुनै जर्नेल या कर्णेल जस्ता !
उसलाई केही पनि थाहा थिएन । उसलाई बस् यत्ति थाहा थियो, त्यो बूढो वर्षमा एकचोटि मात्र घरबाट बाहिर निस्किन्थ्यो । मार्च १५, यही तारिखको दिन । सधैं, त्यही लुगा लगाएर । र ऊ केही पनि गर्दैन्थ्यो, आफ्नो घरबाट निस्किन्थ्यो । त्यो पुलमा पुग्थ्यो, एकछिन त्यही बस्थ्यो । एकोहोरिन्थ्यो । र फेरि आफ्नै घर फर्किन्थ्यो । र अर्को वर्षको मार्च १५सम्म घरबाट बाहिर निस्किदैनथ्यो ।
उसलाई त्यो बूढोको बारेमा केहीपनि थाहा थिएन । उसलाई कसैले उसको बारेमा केही भनिदिएको पनि थिएन । उसलाई बस् यत्ति थाहा थियो – मार्च १५ हरेक हंगेरियनको लागि एउटा महत्वपूर्ण दिन हो । सार्वजानिक विदाको दिन हो । किनकि यसैदिन सन् १८४८ मा, हंगेरियन रिबोलुसन सुरु भएको थियो ।
२.
त्यो केटो, १८ वर्षको उमेरमा त्यो सानो शहर र आफ्नो परिवारलाई छोडेर भाग्यो । आफू जन्मेको शहर र परिवारलाई छोडेपछि, ऊ मनमौजीको जिन्दगी बिताउन थाल्यो । त्यतिबेलासम्म उसको १८औं शताब्दीका रसियन लेखकहरू जस्तैः दोस्तोवस्की, टोल्स्टोय, चेखब, गोन्चारोब, आदिसँग एकप्रकारको छुट्टै लगाब बसिसकेको थियो । ऊ, ती लेखकहरूको आफ्नो जिन्दगी र तिनीहरूको पात्रहरूसँग अब्सेस्ड थियो । यही कारणले पनि ऊ आफ्नो मध्यवर्गीय जिन्दगीलाई झन् तल गिराएर एउटा उत्पीडित र दयनीय जिन्दगी बिताउन चाहन्थ्यो । समाजमा आफूलाई सबैभन्दा तल्लो दर्जामा उभ्याउन चाहन्थ्यो ।
उसले सानातिना धेरै कामहरू गर्यो । ऊ आफ्ना जाँगिरहरू बदलिरहन्थ्यो । किनकि तत्कालिन कम्युिष्ट हंगेरीमा छोरा मान्छेहरू जो कोहीपनि अनिवार्य निश्चित समयको लागि सैन्य सेवामा जानु पर्ने हुन्थ्यो । जुन बाध्यतालाई ऊ आफ्नो जिन्दगीबाट पन्छ्याउन चाहन्थ्यो । तर पछि गएर उसले त्यो बाध्यतालाई स्वीकार्नु सिवाय केही उपाय रहेन । समयक्रममा त्यो केटो पनि सेनामा गयो, जसलाई क्रुर सैन्य प्रशिक्षणले झन्डै मारेको थियो ।
हंगेरीको तत्कालिन कम्युनिष्ट समयमा, जो कोहीले पनि काम गर्नुपर्ने अनिवार्य थियो । ऊ हंगेरीको थुप्रै ठाउँमा पुग्यो । उसको दुब्लो शरीरले माइनिङको काम गर्यो । छवटा गाउँहरूको ‘हाउस अफ कल्चरल डाइरेक्टर’को पनि काम गर्यो । उसले त्यहाँका स्कुलहरूमा प्राथमिक तहलाई पढायो पनि र त्यहाँका साना लाइब्रेरीहरूलाई म्यानेज पनि गर्यो । त्यतिबेला ऊ जम्मा १९ वर्षको थियो ।
एकदिन उसको यो काम पनि बन्द भयो, जब कसैले ‘हाउस अफ कल्चर’को भवनमा आगो लगाइदियो । ऊ त्यस गाउँलाई छोडेर शहर पुग्यो, जहाँ उसले एउटा डेरी फाममा वाचम्यानको जाँगिर भेट्टायो । त्यो काम उसको जिन्दगीको सबैभन्दा राम्रो जाँगिर थियो । करिब त्यस्तै ३९० गाईहरूको बीच, उसले त्यहाँका गोठहरूमा एकप्रकारको छुट्टै शान्ति भेटायो । ती गाई र गोठलाई स्याहार्नुमा नै उसले आनन्द पायो ।
र उसले त्यही समयदेखि नै आफ्नो दिमागमा एउटा किताब लेख्न थाल्यो । कुनै टेबलमा, जहाँ शब्दकोष र किताबहरू छन्, जहाँ सबथोक मिलेको छ, जहाँको झ्यालबाट सुन्दर दृश्य देखिन्छ, ऊ त्यस्तो ठाउँमा बसेर केहीपनि लेख्न सक्दैन थियो । ऊ ट्रेनभित्र, ट्रेन स्टेसनहरूमा, र धेरैजसो हिँडिरहेको बेला लेख्थ्यो तर ऊ कापीमा लेख्दैन थियो, आफ्नो दिमागभित्रै लेख्थ्यो किनकि ऊ यस्तो लेखक थियो, जो कथालाई पहिले आफ्नो मगजभित्र उमारिसक्छ अनि मात्र अक्षरहरूमा उतार्छ । ऊ आफ्नो मस्तिष्कभित्रै १५/२० पेज लेखिसक्थ्यो अनि पछि त्यसलाई कागजहरूमा पोख्न थाल्थ्यो ।
ऊ अर्थात् ‘लाज्लो क्रास्नहोर्काई’ – एक अजीब लेखक, जो अहिले हंगेरीको चिरपरिचित लेखक हो, जसलाई कहिले लेखक बन्नु नै थिएन, जसलाई कहिले केही पनि बन्नु थिएन ।
‘सेतानट्याङ्गो’
१.
“हामी पर्खाइमा, वर्तमानलाई गुमाउँदै जान्छौं- जसरी गन्तव्यको आशमा यात्रालाई भुलिदिन्छौं !”
मलाई लाग्छ, ‘सेतानट्याङ्गो’ एउटा पागलपनको किताब हो । ‘लाज्लो क्रास्नहोर्काई’लाई यो किताब लेख्नु नै थिएन । ऊ बस् आफ्नो मगजभित्रको ब्रह्माण्ड, जो आजसम्म अस्तित्वमा छैन, त्यसलाई सुरक्षित राख्न चाहन्थ्यो । र उसलाई थाहा भयो कि, उसको दुनियाँलाई शब्दहरूले मात्र सुरक्षित गर्न सक्छन् । उसले आफ्नो दुनियाँलाई संगीतमा पनि जिउँदो राख्न सक्थ्यो तर १८ वर्षको उमेरमा नै उसलाई थाहा भयो कि ऊ मान्छेहरूकोअघि आफूभित्रको सांगितिक कलालाई अभिव्यक्त गर्न असमर्थ छ । त्यसैले पछि उसले यो किताब लेख्यो । अनि आफूले यो किताब लेखिसकेपछि अरु कुनै पनि किताब नलेख्ने निर्णय गर्यो, जुन निर्णयमा ऊ आफू पछि गएर इमानदार हुन सकेन ।
यसको पनि एउटा कारण थियो – जब ‘भियान्ना’मा ऊ आफ्नो किताब ‘सेतानट्याङ्गो’को दोस्रो च्याप्टरका केही हरफहरू पढिरहेको थियो, तब उसले त्यहाँ केही समस्या भेट्यो । उसलाई लाग्यो, किताबको लय कतै गायब भएको छ । ऊ अझैपनि किताबहरूमा एउटा रिदम हुनुपर्छ भन्ने कुरामा विश्वास गर्छ । उसले आफूले आफैलाई यो गल्तिको लागि माफी दिन सकेन । त्यसैले उसले आफ्नो दोस्रो किताब लेख्यो – ‘द मेलान्कोली अफ रेजिस्टेन्स’ – जसमा उसले पहिलो किताबको गल्तिलाई दोस्रो किताबमा सुधार्न खोज्यो । तर पछि यो किताबमा पनि उसले सानोतिनो गल्ति भेट्यो । यसरी हरेकपल्ट एउटा पर्फेक्ट रिदिमको किताब लेख्ने कोसिसमा उसले ससाना गल्तिहरू गर्दै गयो र त्यसलाई सुधार्न अरु थप किताबहरू लेख्दै गयो ।
लाग्छ, कुनैकुनै किताबको वजन यति गह्रौ हुन्छ कि त्यसलाई पढिसकेपछि तपाईंको मस्तिष्क एउटा भरियामा रुपान्तरण हुन्छ – जसको ‘डाक्रो’भित्र एउटा बडेमानको ढुङ्गा लेखकले छोडिदिएको छ । त्यही ठूलाठूला ढुङ्गाहरू बोकेको किताब हो – ‘सेतानट्याङ्गो’ । एउटा यस्तो अद्भुत, अनौठो, विचित्रको किताब, जसका हरेक पाना पल्टाउँदा, अगाडिकोभन्दा पछाडिको पाना गह्र’गो हुँदै जान्छ । कथाको वजन बढ्दै जान्छ । वास्तवमा यो किताब कुनै पात्रको कथा नभएर, हालत वा अवस्थाको कथा हो, जो आफ्नो वातावरणमा परेको पानीझैँ उदास छ, उजाड छ, दु:खी छ र जहाँ हरेक पात्रको मनस्थितिमा प्रलय तण्डाव गरिरहेको छ ।
यो एउटा यस्तो अराजक किताब हो, जहाँ लामालामा वाक्यहरू छन्, अनुच्छेदहरू छन्; जस्तो एउटा च्याप्टर नै एउटा सिङ्गो अनुच्छेद बनेको छ । यस उपन्यासमा १२ वटा च्याप्टरहरू छन् र हरेक च्याप्टर एउटा अनुच्छेद हो । पहिलो खण्डमाः च्याप्टर १ देखि ६ सम्म कथा रहस्यमय ढङ्गले अघि बढेको छ । जसमा कसैको पर्खाइ छ । एउटा आशा छ । हरेक पात्रहरूको आँखा छन्, नजरिया छन्, उनीहरूका कथा छन् र केही हुन्छ कि भन्ने एउटा जिज्ञासा छ । शंका छ । छैटौं च्याप्टरमा एउटा ठूलो घटना घट्छ र त्यस च्याप्टरमा एउटा सिङ्गो अनुच्छेद पहिलोचोटि टुक्रिन्छ । त्यो टुक्रिनुको पनि कारण छ, त्यसको पनि त्यहाँ छुट्टै अर्थ छ । त्यसपछि कथा उल्टो हिँड्न थाल्छ । दोस्रो खण्डमाः च्याप्टर ६ देखि च्याप्टर १ सम्म पुगेर कथाले एउटा गोलो घेरा बनाउँछ ।
यस उपन्यासभित्र कथा र पात्रहरू यसै निसासिरहेका छन् – जहाँ कथा घिस्रिदै एउटा बिन्दुमा पुग्छ र फेरि त्यही लयात्मक बाटो भएर फर्किन थाल्छ । यसको कथावाचन शैली बिल्कुलै नयाँ र रोचक छ । लेखकले कल्पना गरेको यस डाइस्टोपियन कथामा, ढलेको कम्युनिजमभित्र गुम्सिएको तत्कालीन हङ्गेरी देख्न सकिन्छ । अनि यसको क्लाइमेक्स, यसको अन्त्यले पाठकलाई कयौंदिनसम्म सिलिङतिर हेरेर एकोहोरिने बनाइदिन्छ ।
पश्चिमी दर्शनमा ६ अंक सैतान या दानवको अंक मानिने गरिन्छ । सायद यस कारण पनि किताबमा सिदा र उल्टा हिँडिरहेका ६/६ च्याप्टरहरू छन् । Satan अर्थात् राक्षस । Tango, अर्थात् एउटा नृत्य- जसमा एक कदम अगाडि सारेपछि अर्को कदम पछाडि सार्दै नाचिन्छ, कदम-कदम को नृत्य । यस किताबभित्रको ‘राक्षसको नाच’ औधि रोमाञ्चक र रहस्यमयी छ ।
यस उपन्यासको कुरा गरिरहँदा, म यहाँभित्रको ‘इरिमिस’ भन्ने पात्रलाई खुब सम्झिरहेको छु । यो उपन्यासको कथा यही पात्रको वरिपरि घुमेको छ । ऊ को हो ? उसले कस्तो विचार बोकेको छ ? ऊ सही छ या गलत ? ऊ कुनै गुरु हो या लुटेरा हो ? भगवान हो कि दानव हो ? – यो कुरा कसैलाई थाहा छैन । कम्तिमा मलाई चाहिँ थाहा छैन । ऊ रहस्यमयी छ, या ऊ आफैमा एक रहस्य हो । रहस्य अर्थात् ‘इरिमिस’ अर्थात् यस उपन्यासको मेरो सबैभन्दा प्रिय पात्र ।
अन्ततः ‘सुजान सोताङ’ले ‘क्रास्नहोर्काई’लाई “विनाशकारी कथाहरूको गुरु” भनेझैँ, यो किताब – ‘सतानट्याङ्गो’ आफैभित्र आफ्नो नामझैँ सैतान, राक्षस, दानवहरूको नृत्य नाचिरहेको छ ।
‘लाज्लो क्रास्नहोर्काई’, सन् २०१५ मा ‘द म्यान बुकर इन्टरनेस्नल प्राइज’ (जुन पछि गएर ‘द इन्टरनेस्नल बुकर प्राइज’ भयो) बाट सम्मानित भएका छन् । सन् २०१५ सम्म यो पुरस्कार लेखकलाई दिइन्थ्यो । सन् २०१६ पछि ‘इन्टरनेस्नल बुकर प्राइज’ नाममा यो पुरस्कार एकल किताबलाई प्रदान गर्न थालियो ।
२.
“मेरो जिन्दगीको उद्देश्य भनेकै ‘लाज्लो क्रास्नहोर्काई’ले लेखेका सबै किताबहरूमा सिनेमा बनाउनु हो ।” – बेला टार
हङ्गेरीमा अर्को एउटा सिनेम्याटिक पागल कम, कवि कम, डाइरेक्टर छ – जसले यो २८२ पेजको किताबलाई साढे सात घण्टा लामो फिल्ममा रुपान्तरण गरेको छ । उसको नाम ‘बेला टार’ हो, जुन नाम विश्व सिनेजगतमा कुनै अपरिचित नाम होइन । उसका फिल्मका दिक्कलाग्दा तर सुन्दर लामा सटहरूले संसारका सिनेमा प्रेमीहरूलाई मोहित बनाएको छ ।
जाबो २८२ पृष्ठ भएको किताबको, साढे सात घण्टा लामो फिल्म !
तपाईंको मनमा जिज्ञासाको घण्टी बज्नु बिल्कुल सही छ । र यो जिज्ञासा मेटाउन, तपाईंले यो अलिक ‘वजनदार’ किताब पढ्नुपर्ने हुन्छ, अनि त्यसपछि अत्याधिक लामो सोही नामको फिल्म हेर्नुपर्ने हुन्छ – जुन फिल्म, तपाईंलाई फिल्म कम, एउटा उदास र दार्शनिक कविता बोकेर घिस्रिरहेको शङ्खेकीरा जस्तो लाग्छ ।
यस फिल्मको पटकथा पनि ‘लाज्लो क्रास्नहोर्काई’ र ‘बेला टार’ मिलेर लेखेका हुन् ।
प्राक्कथन – जसलाई सुरुमै लेखिनु पर्थ्यो
त्यस दिन म ठमेलको गल्लीमा यसै भौंतारिरहेको थिएँ । ठमेलका किताब पसलहरूमा एकएक किताबका पानाहरू सुँघ्दै थिएँ । एउटा कुनामा मैले एउटा सानो अनि कालो किताब देखेँ । त्यसको कभर नै आकर्षक थियो । हातमा उठाइहालेँ । त्यो किताबको नाम थियो- ‘द लास्ट उल्फ’ । र लेखकको नाम थियो- ‘लाज्लो क्रास्नहोर्काई’, जसको तारिफ गरेर मेरो एउटा साथी कहिले थाक्दैन थियो, र जो अझैपनि तारिफ गर्न छोड्दैन, उसको तारिफ गरेर थाक्दैन ।
मैले त्यतिबेला, त्यो साथीको अनुहार सम्झेरै त्यो किताब किनेँ अनि घर ल्याएँ ।
यस्तो लाग्यो, त्यो किताबलाई ‘बेला टार’ले ठमेलको गल्लीमा बिर्सिगएको थियो । मलाई विश्वास छ, हालसालै ‘बेला टार’ काठमाडौंका रहस्यमयी गल्लीमा भड्किएको हुनुपर्छ । उसको हातमा ‘क्रास्नहोर्काई’को ‘द लास्ट उल्फ’ थियो, जसमा दुईवटा लघु उपन्यास छन्: ‘द लास्ट उल्फ’ र ‘हर्मन’ । उसले त्यो किताबलाई ठमेलको कुनै पुरानो क्याफेमा बसेर एक सासमै पढेको थियो । या भनौं, ‘क्रास्नहोर्काई’ले ‘बेला टार’को सासलाई आफ्नो कथाको न्यारेसनमा दबाइदिएको थियो । न कतै पूर्णबिराम, न कतै अनुच्छेद परिवर्तन अनि कथा भएको उथलपुथलले ‘बेला टार’ पूर्ण निसासिएको थियो । अब यो कथालाई कसरी दृश्यमा ढाल्ने भन्ने सोचमा ‘बेला टार’ ठमेलका गल्लीहरूमा यताउता भड्किरह्यो । उसको हातमा भएको ‘द लास्ट उल्फ’ यतै कतै छुटेको हुनुपर्छ !
र सोही किताब त्यतिबेला मेरो हातमा आइपुगेको थियो । जसलाई पढिरहँदा, मलाई सास फेर्नपनि एकदम सकस भइरहेको थियो । त्यो किताब पढ्दैगर्दा यस्तो लाग्छ, लेखक आफ्नो कथाको पूर्णबिराम खोज्न कतै निस्किएको छ । र त्यो यात्रामा उसले आफ्नो कथालाई बिर्सिसकेको छ ।
कस्तो अनौठो !
एक अजीब लेखक, जो हंगेरीमा बसेर अझैपनि यस्तै अनौठा किताबहरू लेखिरहेको छ । म उसको एउटा सानो पाठक, जो यहाँ बसेर उसलाई लेख्ने दुस् + प्रयास गरिरहेको छु ।