अपवाद


biraalo.com

“A life without love is of no account. Don’t ask yourself what kind of love you should seek, spiritual or material, divine or mundane, eastern or western…divisions only lead to more divisions. Love has no labels, no definitions. It is what it is, pure and simple. Love is the water of life. And a lover is a soul of fire! The universe turns differently when fire loves water.”


― Shams Of Tabriz

***

पुर्णिमा— आकाश रातो भएको छ । जून कुनै अद्भुत चित्रकार बनेको छ । आकाशलाई रङ्गाएको छ । जून आज फेरि एकपटक पूर्ण भएको छ । ताराहरू जूनको पूर्ण सामिप्यता पाएर, खुशीको नाच नाचिरहेका छन् । चम्किरहेका छन् ।

“तिमीलाई थाहा छ, त्यो क्षितिजपारी पनि एउटा दुनियाँ छ !”

बगरमा उत्तानो परेर— कुनै अद्भुत, अनौठो  चित्रलाई घुरेझैँ— जुनलाई नियालिरहेको म, उसको आवाजले झस्किन्छु । उठ्छु । र अलिक सतर्क हुन्छु । उसलाई नियाल्छु— उसका खुट्टा बगरका बालुवासँग खेल्दैछन् । ऊ आफ्ना खुट्टाले त्यहाँ खाल्टो बनाउँदैछे ।

“त्यो सामानन्तर दुनियाँ, यो दुनियाँको ठिक विपरित छ !”

ऊ कहिलेकाहीँ यस्तै कुरा गर्छे । विचित्रका कुरा निकाल्छे— र धाराप्रवाह बोलिरहन्छे । कहिलेकाहीँ त ऊ मलाई, कुनै प्रवचन दिने बाबा, साधु जस्तो लाग्छ । कुनै दार्शनिकले जस्तो गफ गर्छे । उसका शब्दहरू, बिम्ब मिसिएका गहिरा कविताहरू जस्तै लाग्छन् । तर ती रत्तिभर पनि अल्छि सुनिदैनन् । ती मधुर छन् । तीनमा रस छ ।

मलाई लाग्छ, म उसलाई घन्टौं सुनिरहन सक्छु । ‘म एक असल स्रोता हुँ’— यो मैले आफैले आफैलाई गर्ने एउटा प्रसंशा हो । उसलाई म जतिपनि सुन्न सक्छु । हाम्रो हरेक भेटमा, धेरै बोल्ने ऊ नै हुन्छे । म के भन्ने— के बोल्ने— कुनै मेसो पाउदिनँ । म चुपचाप उसलाई सुनिरहन्छु । ऊ पनि म धेरै नबोलेकोमा कहिले कुनै गुनासो गर्दिन । मलाई लाग्छ ऊ मलाई बुझ्छे । 

“कहिलेकाहीँ सोच्छु— तिमी र म यहाँ नहुनु पर्थ्यो । त्यहाँ हुनुपर्थ्यो— त्यो दुनियाँमा !”

समुद्र शान्त देखिए जस्तो छ— तर शान्त भने छैन । छालहरू बगरसँग कब्बडी खलिरहेका छन् । ती छालका सुसेलीहरू— कुनै शास्त्रीय संगीत जस्ता छन् । सुमुद्रको अजङ्गको छातीमा, जूनको पुर्ण आकृति प्रतिबिम्बित भएको छ ।

म आफ्नो हातले खुट्टालाई बेर्छु । र आफ्नो चिउँडो घुँडामा टेकाएर— उसलाई ज्ञानी बच्चालेझैं सुन्न थाल्छु ।

“त्यो दुनियाँ— जहाँ लाखौं ताराहरु छैनन् । बरू त्यहाँ सयौं चन्द्रमाहरू छन् । जुन दुनियाँमा— अँध्यारो कहिले बास खोज्दै आउदैन । जहाँ हावामा तैरिरहेका छन्— झरेका पातहरु ! जहाँ दिन र रातले— जहाँ समयले— कुनै अस्तित्व राख्दैन । जहाँ रूखहरू गीत गाउँछन् । जहाँ चराहरू मान्छे जस्तै बातचीत गर्छन् । जहाँ हाम्रो इच्छाले हिउँ खस्छ, पानी पर्छ । जहाँ आकाशको रङ्ग निलो होइन— हरियो छ । जहाँ बादलहरू सुन्तला जस्ता छन् । र जहाँ तिमी छौ अनि म छु— त्यो हाम्रो दुनियाँ हो । हामी त्यहाँ हुनुपर्थ्यो !”

कस्तो अजिब कुरा ! अनि कति मिठो पनि ! मानौं, ऊ मलाई कुनै प्रेम कविता सुनाइरहेकी छे— जो उसले भर्खरै मेरो लागि भनेर लखेकी हो । उसको दिमागमा अचम्म अचम्मका विचारहरू आउँछन् । जो मलाई सुनाउन, ऊ कत्तिपनि ढिलो गर्दिन । उसलाई बोल्न खुब मन पर्छ ।

“त्यहाँ हामी बिराला भएका छौं ! तिमी ढाडे मलाई पछ्याइरहन्छौ । मसँग चल्छौ । मेरा गालाहरू चाट्छौ ।”

योभन्दा ऊ हल्का मुस्कुराउँछे । म पनि खिस्स हाँस्छु । उसका खुट्टा— अझै बालुवासँग खेलिरहेका छन् । उसले एउटा खाल्टो बनाइसकिछ । 

मैले उसका खुट्टालाई नियालेँ— ती साबिकभन्दा साना र सेता छन् । कलिला देखिन्छन्— कुनै बच्चाका जस्ता । मलाई पहिलोपटक उसको खुट्टासँग पनि प्रेम हुन्छ ।

“त्यहाँ कहिलेकाहीँ तिमी चरा बन्ने इच्छा गर्छौ । हामी चरा हुन्छौं । कुन चरा थाहा छ ? —ढुकुर होइन । हामी चील बन्छौं । र बादलहरूमा लुकामारी खेल्छौं । तिमीलाई थाहा छ, बादलहरूलाई छुदाँ कस्तो महसुस हुन्छ ?”

म ‘थाहा छैन’को टाउको हल्लाउँछु । उसले आफ्नो बलौटे हातले मेरो गाला छुन्छे— “यी यस्तै महसुस हुन्छ !”

ऊ मुस्कुराउँछे । म आफ्नो गालामा लागेका बालुवालाई यसै छोडिदिन्छु । 

“तिमीलाई यस्तो कुरा गर्न कसरी आउँछ ?”

ऊ मतिर पुलुक्क हेर्छे । एउटा हर्ष र उदासीनताबीचको मुस्कान मुस्कराउँछे । 

“म यस्तै छु । मेरो दुनियाँ यस्तै छ— असाधारण र सिमित  । मेरो दुनियाँ, मलाई सपना देख्न सिकाउँछ  । मलाई यस्तै कुरा गर्न आउँछ— सपनामा देख्न । सपना बुन्न ।”

“तिम्रो दुनियाँमा म कहाँनेर छु ?”

“तिमी मेरो दुनियाँमा छैनौ— तिमी मभित्र छौ । ममा छौ ।”

मबाट फेरि शब्दहरू हराँछन् । म चुपचाप उसलाई हेरिरहन्छु । ऊ आफ्नो दुवै खुट्टालाई खाल्टोमा राख्छे । र बालुवाले पुर्न थाल्छे ।

“जब म तिमीसँग छुटिएर घर जान्छु, मलाई यस्तै महसुस हुन्छ । मानौं कसैले मेरो खुट्टा पुरिदिएको छ । बाँधिदिएको छ । म चल्न सक्दिनँ । म केही गर्न सक्दिनँ । म बस् आफैभित्र निसासिन्छु ।”

उसको आँखा रसाए जस्तो देखिन्छ । ऊ मबाट नजर हटाउँछे । र समुद्रका छालहरूमा  एकोहोरिन्छे ।

धेरैबेरसम्म ऊ मतिर फर्किन्न । म मौन, उसको आँखालाई हेरिरहन्छु । नियालिरहन्छु— ती चञ्चल, निर्दोष, चिम्सा, कोइला आँखा । आँखाहरू चुम्बक हुन् । आँखाहरूमा जादु हुन्छ । आँखाहरू सत्य बोल्छन् । आँखाहरू— प्रेमका ऐना हुन् ।

“तिम्रो घर, मेरो घरभन्दा किन टाढा छ ?”

अपेक्षारहित प्रश्न— जसमा अलिकति रिस मिसिएको छ । ऊ एक मुठ्ठी बालुवा समुद्रतिर फ्याक्छे । बालुवासँगै उसको एक मुठ्ठी रिस पनि समुद्रमा कतै बिलिन हुन्छ ।

“कुनैदिन म यहीँ किनारमा एउटा घर बनाउँछु !”

म यत्ति भन्छु ।

ऊ मलाई प्रेमिल नजरले हेर्छे । मछेउ सर्छे । र मलाई अँगालो हाल्छे । उसको शरिरको त्यो  सुगन्ध— मेरो नाकले एउटा लामो सास निल्छ । उसको कपालमा, मेरो नाक कुनै भमरा जस्तै लठ्ठ हुन्छ । कुनै नयाँ किताबको बास्नाभन्दा पनि मीठो बास्ना ! वर्षातले माटोलाई छुदाँ— निस्किएको गन्धभन्दा पनि मीठो गन्ध !

म उसलाई जिस्काउँछु—

“तिमी कुन अत्तर प्रयोग गर्छौ, ए अप्सरा !”

ऊ पनि कम छैन । उसलाई बोल्नमा कसले सक्छ र ! ऊ अप्सरा बनिदिन्छे—

“समुन्द्रको जडिबुटीले निर्मित जल-अत्तर हो, मुनिवर !”

ऊ खित्का छोडेर हाँस्न थाल्छे । म पनि ऊसँगै हाँस्छु ।

***

रात बिस्तारै बालक बिहानमा रुपान्तरण हुदैछ ।

यो धर्तीका हरेक वस्तुको अन्त्य निश्चित छ । त्यो भौतिक होस्, अभौतिक होस् । मान्छे मर्छ । फुलहरू ओइलिन्छन् । ढुङ्गा पनि माटोमा परिवर्तित हुन्छ । पानी पनि बाफ बन्छ । बादल बन्छ । यो रात सकिन्छ । भोलिको दिन पनि सकिन्छ । यो समय फेरि— यहीँ समय भएर कहिले फर्किदैन । 

म सोच्न थाल्छु— के उसले भनेजस्तै त्यहाँ अर्को दुनियाँ छ ? के त्यहाँ अर्को ‘म’ छ— जो मेरै जस्तो अनुहार र सपना लिएर हिडिरहेको छ ? के त्यहाँ ऊ जस्तै अर्को ‘ऊ’  छे— जो सृष्टिको नियम विरुद्ध गएर मलाई प्रेम गरिरहेकी छे ?

“प्रेम नियमहरूको बन्दी होइन । यो त बतास हो— जो आफ्नो मर्जीले जता पनि बहन सक्छ !”

एकपटकको भेटमा, उसले जूनलाई एकोहोरो नियाल्दै भनेकी थिई ।

उसलाई कति कुरा गर्न आउँछ । उसका कुराहरू, बेतुकका सुनिए पनि, विश्वास गर्न मन लाग्छ । म सधैं विश्वास गर्न पुग्छु ।

***

क्षितिजमा— घाम आधा झुल्किसकेको छ ।

प्रभातका निराश पानाहरू पल्टिन थाल्छन् । ऊ ‘जाने बेला भयो’ भन्ने नजरले मतिर हेर्छे । मन उदास हुन्छ । समय किन छिटो दौडिदिन्छ कहिलेकाहीँ ?

म के गर्ने ? के नगर्ने ?— अलमलमा पर्छु । ‘नजाऊ !’ भन्न मन छ । तर मनलाई यो पनि थाहा छ— उसलाई घर जानु पर्छ । जान आवश्यक छ ।

हामी फेरि भेटिन्छौं !

मनमा कतै एउटा आवाज गुञ्जिन्छ । सायद उसको हृदय बोलेको हुनुपर्छ । उसले मेरो हात समाउँछे । आफ्ना औंलाहरू, मेरा औंलाहरूमा बेरिदिन्छे । ती औंलाहरूले, एउटा उदास कविता लेख्छन् ।

“अर्को पुर्णिामासम्म…!”

मनले— उसले बोलेकै वाक्य दोहोराउँछ । अर्को पूर्णिमासम्म ।  हाम्रा औंलाहरू छुटिन्छन् । हातहरू छुटिन्छन् । ऊ चुपचाप उठ्छे । र क्षितिजको गर्भबाट जन्मिदै गरेको घामलाई नियाल्छे । सायद, यतिखेर उसको लागि यो संसारको सबैभन्दा घृणित वस्तु त्यो घाम हो ।

उसका पाइलाहरू समुद्रतिर अघि बढ्छन् । म निराश, मौन, अचल— ऊ गएको हेरिरहन्छु । उसका खुट्टाहरूले समुद्रको पानीलाई स्पर्श गर्छन् । बिस्तारै— उसको शरिरमा परिवर्तन देखिन थाल्छ ।

उसका खुट्टा, माछाको पुछरमा रुपान्तरण हुन्छ । हेर्दाहेर्दै, उसको आधा शरिर कुनै मान्छाको जस्तो बन्छ । ऊ मतिर फर्केर, एकपटक विदाइको हात हल्लाउँछे । उदाउँदो घामको प्रकाशले, उसको सुनौलो कपाल टल्किन्छ । 

ऊ समुद्रमा डुबुल्की लगाउँछे । र आफ्नो त्यो स्वप्निल दुनियाँमा कतै बिलिन हुन्छे ।