-paradox-



Alternate Reality – 1


त्यस रात तिमी आफ्नो ओछ्यानमा छट्पटाइरहेकी हुनेछौं !

म यतिबेला, खै-कुन्नि-कुनचाहिँ अमूर्त आकाशबाट – त्यतिबेला तिम्रो निधारमा खसेका पसिनाका बुँदहरूमा आफ्ना सुक्ष्म प्रतिबिम्बहरू देखिरहेको छु । मस्तिष्कको यो काल्पनिक शक्ति, मलाई बडो गजब लाग्छ । हेर त, यसको माध्यमले म आज-अहिले-यहीबाट, तिम्रो भोलिमा प्रवेश गरिरहेको छु ।

तिम्रो भोलिको ढोका त खुल्लै छ त ! किन ताल्चा नलगाएको ? मैले पनि खुल्ला ढोकामा दस्तक दिन जरुरी सम्झिनँ ।

°°°

तिमीले सधैं देखिरहेको यो आवर्ती दुष्सपनाले, आज बल्ल आफूले एउटा अमूर्त स्वरुप र एक सस्तो नाम पाएको छ । त्यो बल्लतल्ल ‘ऐठन’ भएको छ । यतिबेलासम्म तिमी यो सपनासँग अभ्यस्त भइसकेकी छौ । र आज नयाँ पहिरनमा आएको यो टपरटुइँया ऐठनले पनि तिमीलाई खासै डराउन सक्दैन । तिमी सोच्छौ – ‘रजस्वला भएको बेला यस्ता सपनाहरू ऐठन बनेर आउनु स्वाभाविक हो ।’

तिमी उठेर आफ्नो निधारमा बेपर्वाह हिँडिरहेका पसिनाहरू पुछ्छौ । तिमीलाई अचम्म त यो कुराले लाग्छ कि तिम्रो राइटिङ टेबलमा करिब ५ घण्टाअघि, तिमीले बालेको मैनबत्ती अझै मरेको छैन । भरखर आधा मात्र सल्किएको छ ।

टेबलमा लडिरहेका नग्न कागजहरूमा यतिबेला मैनबत्तीको प्रकाश चलमलाइरहेको छ । करिब ५ घण्टाअघि, त्यो मैनबत्तीको उज्यालोमा तिमीले मलाई प्रेमपत्र लेख्ने निर्णय गरेकी थियौ ।

तर तिमीले लेखिनौ ।

 तिमीलाई लाग्यो, ती खाली कागजले जस्तो – तिम्रा मप्रतिका भावनाहरूलाई कसैले पनि बयान गर्न सक्दैनन् । तिमीले त्यस साँझ आफ्ना भावनाहरूलाई गाँजेर एक नलेखिएको प्रेमपत्र लेख्यौ – मेरोनिम्ति ! 

तिमी बिस्ताराबाट पनि उठेर आफ्नो राइटिङ टेबलसम्म पुग्यौ । ती रित्ता कागजहरू उठायौ । तिमीलाई लाग्यो, आजसम्म तिमीले यति गह्र’गो कुरा कहिल्यै उठाएकी थिएनौ ।

र टेबलको दोस्रो-देब्रे खुट्टानेर खसेको एउटा पुरानो खाम उठायौ । ती ५ रित्ता कागजहरूलाई मजाले पट्याएर, त्यो खामभित्र हाल्यौ । खाम समेत रित्तो भएको भने तिमीलाई पटक्कै मन परेन । तिमीले पठाउनेको नाम लेखिनौ । ठेगना लेखिनौ । तिमीले पाउनेको पनि नाम लेखिनौ । ठेगना लेखिनौ ।

बरु खामलाई उल्टो पल्टाएर, मसी सकिन लागेको डटपेनले तिमीले बस्.. एक वाक्य लेख्यौ-

‘कुनैकुनै मैनबत्तीको आयु ५ घण्टाभन्दा बेसी हुन्छ !’

°°°

मलाई प्रेमपत्र लेखेको रात तिमीलाई निद्रा लाग्दैन । सायद तिमीलाई निदाउनु पनि छैन ।  त्यसैले त तिमी त्यो मलाई नलेखिएर-लेखिएको प्रेमपत्र बोकेर, त्यो कलिलो बिहानमा आफ्नो कोठाबाट बाहिर निस्कियौ ।

घरि.. घरि अनि पर.. पर गुञ्जिरहेका कुकुरका भुकाइहरू, तिम्रा कानका पर्दाहरूलाई अल्मलाउन आइपुगिरहेका छन् । तर तिमीलाई यो कुराको वास्ता छैन । 

तारहरूमा अल्झिएर निसासिएका ल्याम्पपोस्टहरू भने – अँध्यारोमा तिम्रो खुट्टामा ठेस नलागोस् भन्ने चाहन्छन् । र त, उनीहरूले तिमी हिडिरहेको हरेक गल्लीहरूलाई उज्यालो बनाइरहेका छन् । 

गल्लीपछि गल्ली । मोडपछि मोड ।

तिमीलाई यस सहरका गल्लीहरू रहस्यमयी त लाग्छन् नै – सँगसँगै – जादुई पनि लाग्छन् । तिम्रो गन्तव्य छैन, न सायद तिम्रो हातको प्रेमपत्रको नै । तिमी सधैं आफूलाई बतास हुँ भन्छौ – जो आफ्नो मर्जीले जता पनि बहन्छ ।

हुन त, घाम उदाउनु पूर्व नै तिमी आफ्नो हातमा अल्झिरहेको प्रेमपत्रलाई तह लगाउन चाहन्छौ । सभ्यताको आलिसान टाउकोमा टेकेर, यो सहरबाट जे कुरा लोप हुन लागिसकेको छ, यतिबेला तिमी त्यही कुरा खोजिरहेकी छौ ।

दैव छ होला ! उसैले तिमीलाई यतिबेला अजिङ्गर बनाएको हुनुपर्छ । कसरी-कसरी तिमीले आफ्नो आहरा भेटाउँछौ । तिम्रा पैतालाहरू, एउटा पुरानो ल्याम्पोस्टमुनि वर्षौंदेखि मस्त धुलो खाएर उभिएको पत्र मञ्जूषाअघि रोकिन्छन् ।

त्यसभन्दा अघि, त्यो बाटोमा तिमी कति हिँडेकी थियौ । कति दौडिएकी थियौ । अलिकति लडेकी पनि थियौ । तर अहँ.. त्यही बाटोको एक कुनामा ‘एउटा पत्र मञ्जूषा पनि अस्तित्वमा छ’ भन्ने कुराबाट तिमी बेखबर थियौ ।

सायद हातमा चिठ्ठी हुनेहरूले मात्र सहरमा पत्र मञ्जूषा खोज्ने गर्छन् । 

थाहा छैन, तिमीले गन्तव्य पायौ, पाएनौ ! पाउँछौ, पाउँदैनौ ! तर तिम्रो हातको प्रेमपत्रले भने पायो । घाम उदाउनु पूर्व नै, तिमीले त्यस प्रेमपत्रलाई त्यो बुढो, गुमनाम पत्र मञ्जूषामा खसायौ – मेरोनिम्ति !

यो कुराको साची त्यहाँ ल्याम्पपोस्ट मात्र थिएन । हराउन लागेको जून मात्र थिएन । कुकुरको भुकाइ मात्र थिएन । खस्दै गरेका सितका थोपाहरू मात्र थिएनन् ।

त्यही पत्र मञ्जूषाभित्र, बेला-कुबेला यी सहरका आवारा हातहरूले खसाएका खुकुरी चुरोटका ५ खिल्ली फिल्टरका ठुट्टाहरू पनि थिए ।

°°°

Alternate Reality – 2


मलाई तिमीले चुरोट पिएको र धुँवाहरूले तिम्रो अनुहार छेल्दाको क्षण – कुनै महान निर्देशकले खिच्न बिर्सिएको,एउटा अद्भुत सिनेम्याटिक दृश्य हो झैं लाग्छ । जस्तो कि तिमी त्यो चुरोटको प्रेममा छौ जस्तो कि त्यो चुरोट तिम्रो प्रेममा छ ।

एक.दुई.तीन.चार.पाँच.

पाँच खिल्लि चुरोटका फिल्टरहरू तिमी त्यो काठे एश्ट्रेमा कोच्छौ, पालैपालो.. । सायद हरेक चुरोटको ठुटोमा, तिमीले एक आफ्नो पूर्वप्रेमीलाई भेट्छौ । उसलाई सल्काउछौ । जलाउछौ । उडाउछौ । र एश्ट्रेमा कोच्छौ ।

र खै-कुन्नि-किन म घरिघरि यो महसुस गरिरहेको छु कि म त्यो एश्ट्रे हुँ !

°°°

यतिबेला तिम्रो स्तनको न्यानो वाइट बोर्डमा, मेरो हात मार्कर बनेर इनफिनिटिको मानक निकाल्ने कोसिस गरिरहेको छ । 

तिम्रा ओठहरूले, मेरा ओठहरूलाई जिस्काइरहेको बेला नै हो – आजसम्म मैले तिमीलाई सबैभन्दा बढी याद गरेको । मान्छे आफू साथमै हुँदा, त्यही साथमै भएको मान्छेको याद आउनु – मनुष्यको मानसिक सन्तुलनभित्र पर्ने कुरा हो कि होइन ! 

तिमी मसँगै भएर पनि मसँग छैनौ । तिमी मसँगै नहुँदा पनि मसँगै छौ ।

°°°

म भन्छु- “संभोग बिनाको नग्नता सम्भव छ !”

तिमी भन्छौ – “हामी नाङ्गो भएर संभोग नगरि कसरी बस्न सक्छौं ?”

मेरालागि संभोग र नग्नता, एउटै बाटोमा हिँड्ने दुई फरक पथिक हुन् । जसलाई ढिलो-चाँडो हिँड्नुसँग कुनै वास्ता छैन । जसलाई एकअर्काको अस्तित्वसँग कुनै मतलब छैन ।

संभोग ‘डाली’को सरियल आर्ट हो भने नग्नता ‘पिकासो’को क्युबिजम् हो । खन्दै जाँदा, दुबैमा एकरुपता त भेटिएला तर दुबैको परिभाषा फरक छ । नग्नता र संभोगलाई – एउटै रङ्गको भाँडोमा घोल्न त सकिन्छ, तर यी दुबै एक्ला-एक्लै पनि सुन्दर चित्र हुन् ।

त्यस रात  तिमी र म नाङ्गो भयौं एकअर्काकोअघि । हाम्रो आत्मा नाङ्गिएको मिति भने मलाई अहिले याद छैन । त्यसरात हामीले संभोग गरेनौं । हामीले चित्र बनायौं । हाम्रा छालाहरूले एकअर्कामा, आफ्नो मनपर्ने रङ्ग पोते ।

हामी दुबैलाई मनपर्ने रङ्ग एउटै थियो – गाडा निलो ।

°°°

Alternate Reality – 3


तिम्रा खुट्टाले जमिनलाई होइन, मेरा खुट्टाहरूलाई टेकिरहेका छन् । तिम्रा हात, मेरो काँधमा विश्राम लिइरहेका छन् । तिम्रा ओठ, मेरो कान छेउमा पुगेर पृष्ठभूमिमा बझिरहेको गीतकै शब्दहरू सुस्केरा हालिरहेका छन्- 

विस आइ कुड लिभ यु माइ लभ, बट माइ हार्ट इज अ मेस..

cold/messले हल्लाइरहेको हाम्रा देहहरू, हाम्रोअघि उभिरहेको ऐनामा – कुनै तानमा अल्झिएका डोरी झैं देखिएका छन् ।

तिमी नाङ्गो छौ, तर ऐनासामु लजाउदिनौ । म नाङ्गो छु, म ऐनाअघि लजाउदिनँ । कहिलेकाहीँ लाग्छ, हामी हरेकदिन ऐनासामु हस्तमैथुन गर्ने नार्सिस्टिक जङ्गली जनावर हौं ।

नाँच्न – तिमीलाई पनि मन छ, मलाई पनि मन छ । नाँच्न – तिमीलाई पनि आउँदैन, मलाई पनि आउँदैन ।

°°°

तिम्रो कानछेउमा निदाइरहेका मेरा ओठ, निद्रामै बर्बराउन थाल्छन् –

“यो तिमी र मैले बाँचिरहेको यथार्थ फगत एउटा कालो बिरालोले देखिरहेको सपना हो !”

त्यतिनै बेला ऐनाबाट हाम्रा प्रतिबिम्ब हराउँछन् । ऐनाभित्र एउटा कालो बिरालो निदाइरहेको छ । उसलाई पहिलोपटक थाहा हुन्छु – ऊ वर्षौंदेखि एउटा सपना देखिरहेको छ ! एउटै सपनाभित्र बाँचिरहेको छ !

°°°

Reality


म सपना देखिरहेको छु ! 

उसको मस्तिष्कभित्र अनौठो किरा देखिन्छ । यो कुरा उसले थाहा नपाउनु पर्ने कुरा हो ।  कसैको मस्तिष्कभित्र सपनाको अदृश्य रिल घुमिरहँदा, सपना-धारकले त्यसै सपनालाई नै आफ्नो यथार्थ मान्नु पर्ने हुन्छ ।  

सपना श्रृङखला अवधिभर सपना-धारक कुनै पनि अलौकिक, समान्य, बेतुकै संसारमा पनि पुग्न सक्छ । उसले त्यो लोकलाई आफ्नो लोक ठान्नु पर्छ । आफूलाई त्यही दुनियाँको बासिन्दा मान्नु पर्छ । 

त्यहाँ भएको पीडालाई स्विकार्नु पर्छ । खुशीलाई अँगाल्नु पर्छ । 

यी सपनाका नियमभित्र पर्ने कुरा हो । यी नियम बनाउने पहिलो-स्वप्नदाता अनन्त-कालमा नै, ब्रह्माण्डलाई आफ्नो अभौतिक अस्तित्व बुझाएर आफैभित्रको शून्य-समाधिमा लीन हुनु भएको थियो । 

उसको अघि एउटा ऐना छ, त्यसभित्र ब्रह्माण्डका पहिलो युगल मनुष्यः स्त्री-पुरुष नग्न अवस्थामा सुतिरहेका छन् । सपना देखिरहेका छन् ।

उनीहरूको त्यो अनौठो र युगल सपनाभित्र – एउटा कालो बिरालोले, उनीहरू नाङ्गै निदाइरहेको सपना देखिरहेको छ ! 


[ To that Girl, with whom I dance naked in my Dreams. ]